मकवानपुरका स्थानीय तहलाई भू–उपयोग नक्सा हस्तान्तरण कार्यक्रम । २०७८/०७/२६

मकवानपुरका स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले शुक्रबार एक कार्यक्रमका बीच भूमिको वर्गीकरणको आधारमा नापी विभागले तयार पारेको भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन जिल्लाका १० वटै स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको हो ।

जिसस प्रमुख खुलालले स्थानीय तहका प्रमुख÷उप–प्रमुख, एवम् प्रमुख प्रशासकिय अधिकृतहरुलाई भू–उपयोग नक्सा, डाटा तथा रिर्पोट हस्तान्तरण गर्नुभयो । प्रतिवेदन हस्तान्तरण गर्नुहुँदै प्रमुख खुलालले नापी सम्बन्धी नयाँ डाटाले स्थानीय तहहरुको गुरुयोजना निर्माण गर्न टेवा पुग्ने बताउनुभयो । उहाँले योजनाबिनै भूमीको प्रयोगले खेतीयोग्य जमीन मासिनुका साथै प्राकृतिक विपद्को जोखिम बढेको भन्दै नापीको प्रतिवेदनले स्थानीय तहलाई राष्ट्रिय भू–उपयोग नीति अनुसार भूमीको प्रयोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख खुलालले प्रतिवेदनलाई राम्रोसंग अध्यन गरेर आ–आफ्नो स्थानीय तहमा भू–उपयोग निति लागु गर्न समेत आग्रह गर्नुभयो । प्रतिवेदनले कृषि, वन, आवास, व्यवसाय, सांस्कृतिक–पुरातात्विक, नदी, ताल तलैया क्षेत्रको व्यवस्थित संरक्षण तथा विकासका लागि महत्वपूर्ण आधार बनेको उहाँको भनाई थियो ।

राष्ट्रिय भू–उपयोग आयोजनाले जिल्लाका स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको छ । प्रतिवदेनमा १० वटै स्थानीय तहका वन, खेतीयोग्य जमीन, नदी, ताल तथा सिमसार, सार्वजनिक, निजी जमीनको तथ्याङ्क समेटिएको छ । राष्ट्रिय भू–उपयोग नीति अनुसार स्थानीय तहलाई भू–उपयोग नीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्न सहज हुने नापी विभागका प्रमुख नापी अधिकृत विकास कुमार कर्णले जानकारी दिनुभयो । स्थानीय तहलाई डिजिटल डाटासमेत उपलब्ध गराईएको छ । कार्यक्रममा जिसस मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका सबै स्थानीय तहका प्रमुख तथा उप–प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो ।