थाहा नगरपालिका

संक्षिप्त परिचय

पृष्ठभूमि

थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको हो । जनतालाई सुसुचित एवं जागरुक वन्न अभिप्रेरित गर्दे थाहा अभियान चलाउनु हुने स्वर्गीय श्री रुपचन्द विष्टको स्मरण गर्दे यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । ऐतिहासिक टिष्टुङ पालुंग शहरको नामवाट परिचित यस पूरानो शहरलाई नगरपालिका घोसणा गर्न वि.स २०५२ साल देखि करिव २ दशकको स्थानीय जनताको निरन्तर प्रयास पछि मात्र यस क्षेत्रका जनताको नगरवासि हूने चाहना पुरा भएको छ ।

यो नगरपालिका महाभारत श्रृखलाको मध्य भागमा उपत्यकाको रुपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि उच्च हिमशिखरहरुको प्रत्यक्ष मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु रहेका कारण यस नगरलाई पर्यटकीय नगरिको रुपमा विकास गर्न सकिने ठुलो संभावना रहेको छ । प्रशस्त उर्वर कृषि भुमि यस क्षेत्रको अर्को वरदान सावित हुदै गएको देखिन्छ । यस क्षेत्रका किसानहरुले वार्षिक १ अर्व वरावरको तरकारी मात्र देशका प्रमुख शहरहरु र छिमेकी देश भारतमा समेत निर्यात गर्ने गर्दछन । मुलुकको सवै भन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरको करिव वीच भागबाट चिर्दे तराई र नेपालको राजधानी काठमाण्डौ जोडेकोछ । जिल्ला सदरमुकाम र राजधानी काठमाण्डौको करिव वीच भागमा पर्ने यो नगर वाट दुवै शहरको सडक दुरी करिव ६५ कि.मि रहेको छ ।

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको यो नगरक्षेत्र साच्चै नै अद्वितीय छ । राजधानी सग जोडिएको यस नगरपालिकाको हावापानी, जैविक विविधता, मनमोहक पर्यटकीय स्थलहरु, उर्वर कृषि भूमी, सांस्कृतिक विविधता जस्ता विभिन्न विशेषतायुक्त यस थाहा नगर वास्तवमा यो एउटा स्वर्गको टुक्रा जस्तै छ । प्रख्यात सिमभञ्ज्याङ्ग, दामन भ्यू टावर, कोट थुम्की प्रशिद्ध ऋषेश्वर मन्दिर, मनकामना मन्दीर प्राचिन शैलीका वस्तीहरु, पर्यटकलाई लोभ्याउने थाहा नगरका सम्पत्तिहरु हुन । यसै गरी प्रशस्त उर्वर कृषि भूमी यस क्षेत्रको अर्को वरदान हो ।